काठमाडौँ — सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा सेक्रेड हार्ट विद्यालयको फुटसल मैदानमा हिसान-तारकेश्वर फुटसल प्रतियोगिता सम्पन्न भएको छ। तारकेश्वर नगरपालिका भित्रका कक्षा ११ र १२ सञ्चालन गर्ने हिसान–आवद्ध विद्यालयबीच भएको प्रतियोगितामा छात्रतर्फ ८ र छात्रातर्फ ७ टिम सहभागी भएका थिए।
प्रतियोगिता लिग–कम–नकआउट विधिमा सञ्चालन गरिएको खेलमा छात्रातर्फ ल्याण्डमार्क एकेडेमीले उपाधि हात पार्दै च्याम्पियन बन्यो। हिमरश्मी हाई स्कुल दोस्रो र प्रारम्भ वर्ल्ड स्कुल तेस्रो भए।
छात्रतर्फ भने सृजना ज्ञानसागर प्रथम, कौशल माध्यमिक विद्यालय द्वितीय तथा प्रारम्भ वर्ल्ड स्कुल तृतीय बने ।
प्रतियोगिताको उपाधि वितरण समारोह शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंका प्रमुख डा. समन्तमणी आचार्यको प्रमुख आतिथ्य र तारकेश्वर नगरपालिका शिक्षाशाखा अधिकृत सुदिनराज बुढाथोकीको विशेष आतिथ्यतामा सम्पन्न भयो। प्रमुख अतिथि डा. आचार्यले विद्यार्थीलाई अनुशासन, खेलकुद र सिकाइलाई समानान्तर रुपमा अघि बढाउन आग्रह गरे। विशेष अतिथि बुढाथोकीले खेलकुदले विद्यार्थीको सिकाइ क्षमता अझ निखार्ने भएकाले तारकेश्वर हिसानले महत्त्वपूर्ण योगदान दिएको प्रतिक्रिया दिए।
कार्यक्रम तारकेश्वर हिसानका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष पुनले हिसान तारकेश्वरले वार्षिक कार्यतालिका सार्वजनिक गरिसकेको र सोअनुसार अन्य गतिविधि पनि अघि बढाइने बताए।
पुरस्कार वितरण समारोह सचिव कमलप्रसाद ज्ञवालीको सञ्चालनमा सम्पन्न भयो। उत्कृष्ट खेलाडीतर्फ कौशलका अनिल गुरुङ, सृजनाका रबिन गुरुङ, प्रारम्भका युकेश नेगी (छात्र) तथा प्रारम्भकी आकृति तामाङ, हिमरश्मीकी कुसुम गुरुङ र ल्याण्डमार्ककी साजोन खत्री (छात्रा) क्रमशः उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ताको उपाधि विजेता बनेको कार्यक्रममा संयोजक बद्रीनाथ भट्टले जानकारी दिए।

