काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु हुँदैछ।
दशरथ रंगशाला कभर्डहलमा १० दिनसम्म सञ्चालन हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुम पश्चिम भलिबल क्लब, कोशी प्रदेश भलिबल क्लब र बुढानिलकण्ठ भलिबल क्लब सहभागी छन्।
महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
नवौँ संस्करणबाट छनोट भएका शीर्ष टोलीहरूले लिग खेल्न लागेका हुन्। अघिल्लो संस्करणमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ न्यू डायमण्ड च्याम्पियन बनेका थिए।
लिग सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। कूल ४५ खेल हुने यस प्रतियोगितामा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल लिग चरणमा हुनेछन्। लिगपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।
यस लिगका उत्कृष्ट टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसनले सन् २०२६ मा आयोजना गर्ने काभा क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने अवसर पाउनेछन्।
आज पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई गरी चार खेल हुनेछन्।
महिलातर्फ बिहान ८ बजे एपीएफ र आर्मी क्लबबीच तथा बिहान १० बजे पुलिस क्लब र एभरेष्ट क्लबबीच खेल हुनेछ।
पुरुषतर्फ मध्यान्ह १२ बजे हेल्प नेपाल र बुढानिलकण्ठबीच तथा अपरान्ह ४ बजे आर्मी क्लब र खिल्जी युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन समारोह दिउँसो ३ बजे हुने संघले जनाएको छ।
यस संस्करणमा अघिल्लो संस्करणमा भन्दा पुरस्कार राशि बढाइएको छ। महिला र पुरुष दुवैतर्फ विजेताले १० लाख रुपैयाँसहित ट्रफी पाउनेछन्। उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यस्तै सर्वोत्कृष्ट खेलाडीले ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकले ३०–३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
यो प्रतियोगिता नेपाल भलिबल संघले आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार भएको प्रतियोगिताका रूपमा रहेको छ।

