काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले नौसेना सचिव जोन फेलेनलाई पदमुक्त गरेको छ।
डोनाल्ड ट्रम्प प्रशासनअन्तर्गत पछिल्लो समय उच्च सैन्य अधिकारीहरू हटाउने क्रम जारी रहँदा फेलेन पनि त्यसको शिकार बनेका हुन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार फेलेनको स्थानमा उपसचिव हङ काओले कार्यवाहक सचिवको जिम्मेवारी सम्हाल्नेछन्।
हर्मोज जलसन्धिमा जारी तनाव र इरान सँगको चर्किँदो द्वन्द्वका बीच यो महत्वपूर्ण फेरबदल भएको हो। रक्षा सचिव पिट हेगसेथले कार्यभार सम्हालेयता एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई पदमुक्त गरिसकेको बताइएको छ।
व्यावसायिक पृष्ठभूमिका साथै ट्रम्पका ठूला चन्दादातासमेत रहेका फेलेन सन् २०२५ मार्चमा नौसेना सचिव नियुक्त भएका थिए। ट्रम्प प्रशासनको महत्वाकांक्षी ‘गोल्डेन फ्लिट’ परियोजनामा अपेक्षित प्रगति हुन नसकेको कारण उनी पदमुक्त भएको विश्लेषण गरिएको छ।
नवनियुक्त कार्यवाहक सचिव काओ २५ वर्ष लामो नौसेना अनुभव भएका कमान्डर हुन्। उनी सन् २०२४ को सिनेट निर्वाचनमा भर्जिनियाबाट उम्मेदवार बनेका थिए र ट्रम्पका कट्टर समर्थकका रूपमा चिनिन्छन्।

