काठमाडौं । इण्डियन प्रिमियर लिगको पहिलो खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
१२८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। उसका लागि ओपनर वैभव सूर्यवंशीले १७ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले।
यशस्वी जैसवालले ३८ रन तथा ध्रुव जुरेलले १८ रन बनाए भने कप्तान रियान पराग १४ रनमा अविजित रहे। चेन्नईका लागि अंशुल कम्बोजले २ विकेट लिए।
यसअघि गुवाहाटीमा टस जितेर बलिङ रोजेको राजस्थानले चेन्नईलाई १९.४ ओभरमा १२७ रनमा समेटेको थियो। चेन्नईका लागि जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाए भने कात्तिक शर्मा र सरफराज खानले क्रमशः १८ र १७ रन जोडे।
चेन्नईले सुरुवातदेखि नै खराब प्रदर्शन गर्दै नियमित अन्तरालमा विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। राजस्थानका लागि जोफ्रा आर्चर, नान्द्रे बर्गर र रविन्द्र जडेजाले समान २ विकेट लिए भने ब्रिजेश शर्मा, रवि बिश्नोई र सन्दीप शर्माले समान १ विकेट लिए।

