काठमाडौँ । काठमाण्डौ महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले क्यान्सर समयमै पहिचान गर्न सके उपचार पनि सम्भव हुने बताएकी छन् ।
महानगरपालिकाको सहकार्यमा वीर अस्पतालमा महिलालाई नि:शुल्क क्यान्सर परिक्षणको शुभारम्भ कार्यक्रममा प्रमुख डंगोलले क्यान्सर जस्तो घातक रोग समयमै पत्ता लगाउन सके उपचार सम्भव हुने र लाखौं महिलाको जीवन बचाउन सकिने बताइन्।
वीर अस्पतालमा सोमबारदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आयोजित कार्यक्रममा स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण सुरु गरिएको हो। उक्त सेवा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ।
धेरै भन्दा धेरै महिलाले यसबाट लाभ लिन सकुन् भन्ने महानगरपालिकाको अपेक्षा रहेको प्रमुख डंगोलले बताईन्।

