काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नतिजा पत्रकार सम्मेलनको केही बेरपछिबाट वेबसाइटमार्फत हेर्न सार्वजनिक गरिएको छ ।
यसपालिको नतिजामा गत वर्षको तुलनामा ४.१७ प्रतिशतले सुधार आएको छ । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
यस वर्ष सबैभन्दा बढी जीपीए अर्थात् ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ रहेको बोर्डले जनाएको छ । कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीको नतिजा सार्वजनिक गरिएको हो ।
त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ रहेका छन् । २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २ सय २२ छ भने २.४० देखि २.८० जीपीए ल्याउने विद्यार्थी ५५ हजार ९ सय ७७ रहेका छन् ।
यस्तै, २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ५ हजार १ सय ९० रहेको छ भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ७ रहेको बोर्डले जनाएको छ ।
सरकारले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो । चाँडो नतिजा प्रकाशनका लागि परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था गरिएको थियो । सोहीअनुसार बोर्डले परीक्षा सकिएको २९ दिनमै नतिजा सार्वजनिक गरेको हो ।
चैत २९ गते सम्पन्न एसईई परीक्षामा ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र तथा ७ जना अन्य विद्यार्थी रहेका थिए । जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको थियो ।
एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका
नेपाल टेलिकम : १६०० (SMS/USSD तथा IVR सेवा)
जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा)
एम्बिसन गुरु : ३१०६१ (SMS सेवा)
वेबसाइटबाट नतिजा हेर्ने लिंक
SEE Official Website
National Examination Board Nepal
SEE NTC Result Portal
eKantipur SEE Result
EduSanjal SEE Result
Khalti App

