काठमाडौँ– घरेलु मैदानमा आयोजना गरिएको टी–२० आई सिरिजअन्तर्गत नेपालले आज (सोमबार) चिर प्रतिद्वन्द्वी यूएईविरुद्ध पहिलो खेल खेल्दैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।
नेपाल र यूएईबीच दुई खेलको टी–२० आई सिरिज तय गरिएकोछ। यस सिरिजमा नेपाली टोलीको कप्तानी दिपेन्द्रसिंह ऐरीले गर्दैछन्। नेपाल क्रिकेट एशोसियसनले टी–२० आई र ओडीआईका लागि फरक–फरक कप्तान चयन गरेको हो।
यूएईविरुद्धको यस खेलमा नियमित कप्तान रोहित पौडेल, तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीमा छैनन्।
आजको खेल नेपालका लागि विशेष महत्त्वको छ। पहिलो, नेपाली राष्ट्रिय टोलीले करिब दुई वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ। दोस्रो, त्रिवि मैदानको स्तरोन्नतिपछि फ्लडलाइट र प्यारापिटसहित पुरुष टोलीको यो पहिलो खेल हुनेछ।
नेपाल र यूएईबीच अहिलेसम्म ११ खेल भएका छन्। जसमध्ये ६ खेलमा नेपाल विजयी हुँदा ५ खेल यूएईले जितेको छ। पछिल्लोपटक सन् २०२५ अक्टोबरमा भएको टी–२० आई सिरिजको फाइनलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको थियो।
नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल रहेका छन् ।

