काठमाडौँ – रुवाण्डामा जारी आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई ५० रनले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
रुवाण्डा क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटाली १८.४ ओभरमै अलआउट हुँदै ६२ रनमा सीमित रह्यो। इटालीका लागि चथुरिका महामालागेले २२ रन र पासिन्दी कनन्केगेले १२ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालको बलिङ आक्रमण प्रभावशाली रह्यो। रुबिना क्षेत्रीले ४ विकेट लिँदा कविता कुँवरले २ विकेट हात पारिन्। मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। उपकप्तान पूजा महतोले ४८ रनको उत्कृष्ट इनिङ्स खेलिन्। उनले ४५ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन जोडिन्।
इटालीका तर्फबाट एमिलिया बाट्र्रामले ३ विकेट लिइन्।
यसअघि भएको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध ४४ रनले पराजित भएको थियो भने इटालीले रुवाण्डालाई हराएको थियो।
Previous Articleजूनमा प्रकृति, सपना र नैतिकताको संगम
Next Article रास्वपा प्रवास विभाग प्रमुखमा दीपक बोहरा

