काठमाडौं – टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ८ विकेटको सहज जित हात पारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलसँगै नेपालले सिरिज १–१ को बराबरीमा ल्याएको हो।
१२९ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमै दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ओपनर कुशल भुर्तेल ले उत्कृष्ट ब्याटिङ गर्दै ५७ बलमा १२ चौका र २ छक्कासहित ८२ रनको शानदार अर्धशतक प्रहार गरे। कप्तान दिपेन्द्र सिंह ऐरी ले २३ रन तथा कुशल मल्ल ले १९ रन जोडे। डेब्यू गरेका सन्तोष यादव भने १ रनमा आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। नेपालका सन्दीप लामिछाने ले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा एक मेडनसहित मात्र ६ रन खर्चेर ३ विकेट लिए। हेमन्त धामी ले २ विकेट लिँदा नन्दन यादव र शाहब आलम ले समान १–१ विकेट लिए।
यूएईका अक्षदीप नाथ ले सर्वाधिक ५३ रन बनाए भने मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन जोडे।
यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।
Previous Articleजैन मन्दिर कमलपोखरीमा धार्मिक अनुष्ठान तथा वार्षिकोत्सव सम्पन्न
Next Article पौरस्त्य चिन्तन विश्व शान्तिको मूल आधार

