काठमाण्डौ ,
अक्षय तृतीया महापर्वको अवसरमा कमलपोखरीस्थित श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर विभिन्न धार्मिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । सोही अवसरम विश्वको पुरानो मानिने जैन धर्मावलम्बीहरुको पवित्र धामका रुपमा स्थापना गरिएको उक्त मन्दिरको स्थापना दिवसको रुपमा विशेष उत्साहका साथ सम्पन्न गरिएको थियो ।
मन्दिरका अध्यक्ष सुभाष जैन सेठी का अनुसार कार्यक्रमको सुरुवात प्रातःकालमा भगवानको अभिषेक, शान्तिधारा, नित्य पूजन र झण्डोत्तोलनबाट गरिएको थियो । साँझको समयमा ४८ वटा मंगल दीप प्रज्वलन गरी ऋद्धि मन्त्रका साथ ‘भक्तामर स्तोत्र’ पाठ गरिएको थियो ।
उनका अनुसार कार्यक्रम सामूहिक संगीतमय महाआरती, नमोकार महामन्त्रको पाठ र भक्तिपूर्ण भजन कीर्तन गरी भक्ति धारा प्रकट गरिएको थियो । सो अवसरमा गोधा परिवारको तर्फबाट पवन तथा चन्दा जैनले वार्षिकोत्सवमा फेरिने ध्वजा परिवर्तन गर्ने अवसर प्राप्त गरेको बताए ।
विशेष रुपमा सजवट गरिएको मन्दिरमा दीपावलीको रौनकले मन्दिर प्राङ्गण तिहार झैं झिलिमिली देखिएको थियो भने भगवान आदिनाथको जयकारले मन्दिर परिसर गुञ्जायमान बनेको थियो । उपस्थित भक्तजनहरूले हातमा जैन ध्वजा लिएर एकता र धार्मिक सद्भावको परिचय दिएका थिए । अक्षय तृतीयाको पावन अवसरमा तीर्थङ्कर ऋषभदेवको पारणाको प्रतीक स्वरूप भक्तजनहरूलाई ताजा उखुको रस वितरण गरिएको थियो ।

