काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप २०२७ को तेस्रो चरणको छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा आज लाओसको सामना गर्दैछ।
समूह एफको यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे न्यू लाओस नेशनल स्टेडियममा सुरु हुनेछ।
दुवै टोली यसअघि नै छनोट चरणबाट बाहिरिसकेका छन्, त्यसैले खेल केवल प्रतिष्ठाको लडाइँ हुनेछ।
नेपालका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि यो पहिलो आधिकारिक प्रतिस्पर्धा हो। उनले यस खेललाई खेलाडीहरूको क्षमता मापन गर्ने अवसरका रूपमा लिएका छन्। टोलीमा पाँच नयाँ अनुहार—मिडफिल्डर पेम्बा दोर्जे लामा, फरवार्ड मिलन राई, युवराज खड्का, मिडफिल्डर रोमन भुजेल र गोलरक्षक योगेश धिमाल—समावेश गरिएको छ।
तर टोलीको सबैभन्दा ठूलो आश्चर्य भनेको कीर्तिमानी गोलकर्ता अञ्जन विष्टको अनुपस्थितिमा रहेको छ। उनीसँगै मिडफिल्डर एरिक विष्ट र लाकेन लिम्बू पनि टोलीमा छैनन्। टोलीको कप्तानी अनुभवी गोलरक्षक किरण चेम्जोङले सम्हाल्दै छन्।
हेड टु हेडमा नेपाल लाओससँग बढी विजयी रहेको छ। हालसम्म भएका ६ भेटमा नेपालले ४ खेल जितेको छ भने १ खेल बराबरीमा सकिएको छ। सन् २०२५ जुनमा भएको पछिल्लो भिडन्तमा नेपाल लाओससँग २–१ गोल अन्तरले पराजित भएको थियो।
फिफा वरीयतामा नेपाल १८२औँ र लाओस १९०औँ स्थानमा रहेको छ। दुबै टोलीले जित निकाल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छन्।
नेपालमा हुने खेल दशरथ रंगशालाका पूर्वाधार मापदण्ड पूरा नगरेको र एन्फाको आन्तरिक विवादका कारण लाओसमै आयोजना गरिएको हो।

