काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायम रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेश तथा देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, जबकि तराईमा आंशिक बादल रहनेछ।
कोशी प्रदेशसहित पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको संभावना रहेको छ। राति पनि कोशी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल रहनेछ।
पहाडी भूभागमा आंशिक बादल रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

