काठमाडौँ । रुवान्डामा जारी आईसीसी महिला च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोली रुवान्डामाथि ३८ रनको प्रभावशाली जित निकालेको छ।
नेपालले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ दशमलव ४ ओभरमै सबै विकेट गुमाएर ६५ रनमा सीमित भयो। रुवान्डाका लागि म्यारी बिमेन्यिमानाले सर्वाधिक १९ रन जोडिन् भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
रुवान्डाको इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालकी मनिषा उपाध्याय चम्किइन्। उनले चार विकेट हात पार्दा कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई–दुई विकेट लिएर बलिङतर्फ सशक्त प्रदर्शन गरे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३३ रनको योगदान दिइन्। कविता कुँवरले २४ रन जोड्दा रुबिना क्षेत्रीले ११ रन बनाइन्।
रुवान्डाका लागि हेनरित इसिम्वेले तीन विकेट लिँदा म्यारी बिमेन्यिमाना दुई विकेटसहित सफल बलर बनिन्। बेलिसे मुरिकातेते र रोसिन इरेराले समान एक–एक विकेट लिए।
यसअघि पनि नेपालले रुवान्डालाई दुई विकेटले हराइसकेको थियो। प्रतियोगितामा नेपालले अमेरिकासँग भने दुवै खेल गुमाएको छ। त्यस्तै, इटालीविरुद्ध जित निकालेको नेपाल भानुआतुसँग पराजित भएको थियो।
हालसम्म ६ खेलबाट ६ अंक जोडेको नेपालको अब इटाली र भानुआतुसँग खेल्न बाँकी छ। डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
Previous Articleआज देशका विभिन्न क्षेत्रमा तीव्र हावाहुरीको खतरा, सावधान !
Next Article नेपाली काँग्रेसले बोलायो विपक्षी दलको बैठक

