काठमाडौँ–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज देशका विभिन्न भूभागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणद्वारा जारी सूचनाअनुसार कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेसका धनुषा र बारा आसपासका क्षेत्र, लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँची आसपासका भूभाग तथा सुदूरपश्चिमका डडेलधुरा र डोटी आसपासका जिल्लामा हावाहुरीको प्रभाव रहने जानकारी उपलब्ध गराएको प्राधिकरणले जनाएको छ।
विभागका अनुसार आज साँझ ५ः४५ बजेदेखि सुरु हुने अनुमान गरिएको हावाहुरीको प्रभाव भोलि बिहान ७ः४५ बजेसम्म कायम रहन सक्नेछ। यस अवधिमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्ने सम्भावना पनि औँल्याइएको छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको भन्दै प्राधिकरणले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
हावाहुरी चलिरहेका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, झ्यालढोका सुरक्षित रूपमा बन्द गर्न, कमजोर छानो भए मजबुत बनाइराख्न तथा आगोको प्रयोगमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ। साथै, अग्ला रुख, कमजोर संरचना, बिजुलीका खम्बा तथा तारमुनि नबस्न र लत्रिएको बिजुलीको तार नछुन पनि अनुरोध गरिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभाग र आफूबाट जारी हुने मौसमसम्बन्धी सूचना नियमित रूपमा पछ्याउँदै आवश्यक सतर्कता अपनाउन सबैमा अपिल गरेको छ।

