काठमाडौं । अम्पायरबारे क्रिकेटर करण केसीले गरेको टिप्पणी महँगो परेको छ । टिप्पणीकै कारण खेलमा प्रतिबन्ध एवम् कारबाही तोकिएपछी करणलाई टिप्पणी महंगो सावित भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाएको छ। विभागीय टोली नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेलिरहेका करणलाई आइतबार क्यानले कारबाहीस्वरूप एक खेल निलम्बन गरेको हो।
क्यानका अनुसार अम्पायरबारे सामाजिक सञ्जालमा व्यक्त गरिएको धारणा खेलभावनाविपरीत भएको ठहर गर्दै उनलाई एक खेल प्रतिबन्धसँगै सो खेलको १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको हो।
शनिबार करणले सामाजिक सञ्जाल ‘एक्स’मार्फत खेलाडी र अम्पायरबीच हातपात भए के हुन्छ भन्ने आशयको टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै क्यानले अनुशासनात्मक कारबाही अघि बढाएको हो।
क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अम्पायरप्रति सार्वजनिक रूपमा गरिएको टिप्पणी खेल भावना अनुरूप नरहेको निष्कर्षसहित सम्बन्धित सरोकारवालासँग समन्वय गरेर कारबाही गरिएको हो।

