काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई १७० रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ।
मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९४ रनको ठूलो योगफल तयार गर्यो। उसका लागि ईशान पाण्डेले ६१ बलमा सर्वाधिक ७१ रन बनाउँदा अशुतोष घिरैयाले ५९ रनको योगदान दिए। शुभ कङ्साकारले ४४ रन जोडे भने कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे।
२९५ रनको लक्ष्यसहित मैदान उत्रिएको गण्डकी प्रदेशको सुरुआत कमजोर रह्यो। निरन्तर विकेट गुमाउँदै गण्डकी ३१.५ ओभरमै १२४ रनमा समेटियो। उसका लागि अर्जुन कुमालले सर्वाधिक ७४ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्।
बलिङतर्फ बागमतीका रिजन ढकालले ३ विकेट लिए। सन्दीप लामिछाने र ईशान पाण्डेले समान २–२ विकेट लिँदा दयानन्द मण्डल र सुबास खत्रीले १–१ विकेट हात पारे।
यो जितसँगै बागमतीले प्रतियोगितामा आफ्नो बलियो उपस्थितिलाई थप पुष्टि गरेको छ।

