काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउने भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन्।
निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित भएका सांसदमा केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पुगेका हुन्।
ज्येष्ठ सदस्य केसीले भोलि (चैत १२ गते) हुने कार्यक्रममा नव निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यतालिका रहेको छ।

