काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ केन्द्रीय समिति चयनका लागि आज मतदान हुने भएको छ। पार्टीले मतदान इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) मार्फत सञ्चालन गर्ने जनाएको छ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने योजना रहे पनि मनोनयन दर्ता प्रक्रिया रातिसम्म लम्बिएको तथा अन्य प्राविधिक काम बाँकी रहेकाले मतदान साँझतिर मात्रै सुरु हुने सम्भावना देखिएको छ।
निर्वाचन समितिका अनुसार भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिए पनि हालसम्म सबै महाधिवेशन प्रतिनिधिको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छैन। साथै, ९९ केन्द्रीय सदस्य पदका लागि चार सयभन्दा बढी उम्मेदवारी परेकाले दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनजस्ता प्रक्रिया सम्पन्न गर्न समय लाग्ने भएको छ।
उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएपछि मात्र मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ। समितिका एक सदस्यका अनुसार आवश्यक सबै प्रक्रिया पूरा गर्न दिनभर लाग्ने देखिएकाले साँझ ५ बजेदेखि मात्रै मतदान सुरु हुने सम्भावना रहेको छ।
रास्वपाले केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। पार्टी विधानअनुसार सभापति र केन्द्रीय सदस्यहरूको टुंगो लागेपछि मात्रै महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी चयन गर्न पाउने व्यवस्था रहेको छ।

