काठमाडौँ । तराईका विभिन्न जिल्लामा लगातार तापक्रम बढ्दै गएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका केही भूभागमा पनि तापक्रम क्रमशः बढ्ने अनुमान गरिएको छ।
विभागको पूर्वानुमानअनुसार धनगढीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्नेछ भने नेपालगञ्ज र भैरहवामा ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको छ। यस्तै, वीरेन्द्रनगर र घोराहीमा पनि तापक्रम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
बढ्दो गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन तथा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई गर्मीबाट जोगिन थप सतर्कता अपनाउन सुझाव दिइएको छ।

