काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको छ।
भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले स्टोरको सम्पूर्ण पुनःनिर्माण सम्पन्न भइसकेको र आधुनिक सुविधासहित पहिलेकै स्तरको गुणस्तरीय सेवा पुनः उपलब्ध गराउन थालिएको जानकारी दिए।
उनका अनुसार आजदेखि बौद्धस्थित भाटभटेनीले नियमित रूपमा ग्राहकलाई पुन: सेवा दिन सुरु गरेको हो। कम्पनीले गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता यथावत रहेको पनि जनाएको छ।
आन्दोलनका क्रममा सम्पूर्ण भौतिक संरचनामा व्यापक क्षति पुगेको उक्त स्टोरलाई पुनः सञ्चालनमा ल्याउन ग्राहक, शुभेच्छुक तथा सरोकारवालाबाट प्राप्त सहयोग, विश्वास र साथप्रति भाटभटेनी सुपर्मार्केट व्यवस्थापनले आभार व्यक्त गरेको छ।
पुनः सञ्चालनसँगै बौद्ध क्षेत्रका उपभोक्ताले भाटभटेनीका सेवा तथा सुविधाहरू पुनः सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

