ललितपुर । राजधानीमा आजदेखि राष्ट्रिय रग्बी सेभेन्स (महिला तथा पुरुष) प्रतियोगिता सुरु हुँदैछ। नेपाल रग्बी संघका अनुसार प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ सात–सात गरी कुल १४ टोली सहभागी हुनेछन्।
दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ र आइतबारसम्म चल्नेछ। यही प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली छनोट गरिने संघले जनाएको छ।
पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका टोली प्रतिस्पर्धामा छन्। महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली, बागमती, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका टोली सहभागी हुनेछन्।
प्रतियोगिताका विजेता महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार रुपैयाँ जित्नेछन्। उत्कृष्ट एक–एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ।
संघका महासचिव गोविन्द घिमिरेले जारी गरेको विज्ञप्तिअनुसार यही प्रतियोगितालाई आधार मानेर एसियाली खेलकुद २०औं संस्करण र एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट गरिनेछ।
प्रतियोगिताको अनुमानित खर्च करिब ३० लाख रुपैयाँ रहेको छ भने सहभागी खेलाडीका लागि १ लाख २५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा व्यवस्था गरिएको छ।

