काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव कम गर्ने उद्देश्यले इरान र अमेरिका बीच आज इस्लामावादमा उच्चस्तरीय वार्ता हुँदैछ। ऐतिहासिक मानिएको यस भेटवार्ताका लागि दुवै देशका प्रतिनिधिमण्डलहरू पाकिस्तान पुगिसकेका छन्।
इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीले गरेका छन्। इस्लामावाद अवतरणपछि गालिबाफले अमेरिकाप्रति सद्भाव भए पनि पूर्ण विश्वास नरहेको प्रतिक्रिया दिएका छन्।
इरानी प्रतिनिधिमण्डल ‘मिनाब १६८’ नामक विमानमार्फत पाकिस्तान पुगेको हो, जुन गत फेब्रुअरी २८ मा मिनाबस्थित एक विद्यालयमा भएको मिसाइल आक्रमणको सम्झनामा राखिएको नाम हो। उक्त घटनामा १६८ जनाको ज्यान गएको थियो, जसको जिम्मेवारी इरानले अमेरिकी सेनामाथि लगाउँदै आएको छ।
अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। टोलीमा विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नर समेत सहभागी छन्। प्रस्थानअघि भान्सले इरानले इमानदारीताका साथ वार्तामा आए अमेरिका पनि सकारात्मक रूपमा अघि बढ्ने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको सम्भावित सम्झौताका लागि परमाणु हतियार विहीनता प्रमुख सर्त हुने स्पष्ट पारेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो वार्तालाई युद्ध अन्त्यतर्फको निर्णायक पहलको रूपमा व्याख्या गर्दै पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको बताएका छन्।
यसैबीच, लेबनान र इजरायल बीचको द्वन्द्व अन्त्यका लागि आगामी मङ्गलबार वासिङ्टन डीसीमा पनि छुट्टै वार्ता हुने तय भएको छ। तर इजरायलले हिजबुल्लाहसँग प्रत्यक्ष वार्ता नगर्ने अडान राखेको छ।

