पोखरा । नेपाली कांग्रेस गण्डकी कार्यसमितिले ‘निर्वाचन समीक्षा तथा कांग्रेसको अबको बाटो’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा सभापति गगनकुमार थापा असामान्य रूपमा गम्भीर देखिए। चुनावअघि देखिएको उत्साह यसपटक हराएको झल्को कार्यक्रममा स्पष्ट देखिएको थियो।
समीक्षा कार्यक्रममा जिल्ला सभापति, उम्मेदवार तथा केन्द्रीय नेताहरूले आ–आफ्ना धारणा राख्दा गगनले अधिकांश समय मौन रहँदै सुने। चुनावअघि ‘अबकी बार, सय पार’ को नारा दिएका गगनकै नेतृत्वमा कांग्रेस अपेक्षाभन्दा कमजोर नतिजामा खुम्चिएको छ। पार्टी ३८ सिटमा सीमित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी ले उल्लेख्य सफलता हासिल गर्दै सरकारको नेतृत्वसमेत सम्हालेको छ।
गण्डकीमा पनि कांग्रेसले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि समीक्षा बैठकमा नेताहरूले नेतृत्वमाथि प्रश्न उठाए। केहीले विशेष महाधिवेशनले पार्टीलाई एकढिक्का बनाउन नसकेको टिप्पणी गरे भने धेरैले जनमतलाई ‘हुरी’ को संज्ञा दिँदै परिस्थिति प्रतिकूल भएको बताए।
समीक्षाका क्रममा केही नेताले सभापति गगनलाई चेतावनीपूर्ण सुझावसमेत दिएका थिए। स्याङ्जा सभापति राजु थापा ले पार्टीभित्र एकता कायम गर्न आग्रह गर्दै विगतका जस्ता आन्तरिक द्वन्द्व नदोहो¥याउन सुझाए।
आलोचना र सुझाव सुनेपछि गगनले आफू ‘चिन्तित’ नभई ‘चिन्तनमा’ रहेको प्रतिक्रिया दिए। उनले भने, “चिन्ता र चिन्तन फरक कुरा हुन्, म आत्मसमीक्षा र विश्लेषणमा केन्द्रित छु।”
उनले अब कम बोल्ने, धेरै सुन्ने र सबैलाई समेट्ने रणनीतिमा अघि बढ्ने बताएका छन्। आगामी असोजभित्र महाधिवेशन गर्ने र पार्टीलाई एकताबद्ध बनाउँदै आगामी चुनावसम्म पहिलो शक्ति बनाउने लक्ष्यसमेत उनले व्यक्त गरे।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा ले संसदीय दलको नेता छिट्टै चयन हुने बताए भने महामन्त्री प्रदीप पौडेल ले चुनावी शैली र प्रचारविधि परिवर्तन गर्नुपर्नेमा जोड दिए।

