काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ। यसका कारण कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहित अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली देखिएको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागसहित देशभरका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्र र कोशी प्रदेशका तराईमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।
यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही स्थान तथा कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने बताइएको छ।
महाशाखाले सम्भावित वर्षा, हिमपात तथा चट्याङका कारण प्रभावित हुन सक्ने क्षेत्रका सर्वसाधारण तथा यातायात सञ्चालनकर्तालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

