काठमाण्डौ । सरकारले विद्यालय र विश्वविद्यालयमा सक्रिय दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको सय कार्यसूचीमा शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको हो।
सरकारका अनुसार दलीय विद्यार्थी संगठनका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा पर्ने र शैक्षिक गुणस्तरमा गिरावट आउने समस्या देखिएकाले नयाँ कदम चालिएको हो। कार्यसूचीअनुसार अब ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइनेछ।
त्यसको सट्टा ९० दिनभित्र ‘विद्यार्थी काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ नामक नयाँ संरचना विकास गरिने उल्लेख छ, जसले विद्यार्थीको स्वतन्त्र आवाज प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।
यस्तै, विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका परीक्षाको नतिजा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेको शैक्षिक क्यालेन्डरअनुसार समयमै सार्वजनिक गर्ने व्यवस्था पनि कार्यसूचीमा समावेश गरिएको छ।

