काठमाण्डौ । शुक्रबार साँझ परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत अस्थायी ‘डाइभर्सन’ सडक बगाउँदा रोशी क्षेत्रको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीपछि खोलाको बहाव घटेपछि अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि निरन्तर वर्षाका कारण सम्भव हुन सकेन। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्ग खुल्ने निश्चित नभएसम्म शनिबार रातिदेखि सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
शुक्रबार बेलुका आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म करिब चार किलोमिटर डाइभर्सन बगाउँदा सो खण्ड शुक्रबार साँझदेखि नै ठप्प बनेको हो। सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयको संयुक्त प्रयासमा अस्थायी मर्मत गरी सञ्चालनमा ल्याउने योजना बने पनि शनिबार पनि पटक–पटकको वर्षाले काम प्रभावित भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार पानीको बहाव घटेमा आइतबार बिहानदेखि पुनः डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याउने प्रयास गरिनेछ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार गत वर्षको बाढीपहिरोपछि बनाइएको करिब १८ किलोमिटर अस्थायी डाइभर्सनमध्ये विभिन्न स्थानका चार किलोमिटर सडक पुनः बगाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले निरन्तर वर्षाका कारण पुनर्निर्माणमा कठिनाइ भइरहेको बताए।
बाढीका कारण बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा पहिरोसहित सडक क्षतिग्रस्त भएको छ। यद्यपि स्थायी निर्माण भइरहेको भागमा भने क्षति नभएको जनाइएको छ।
यसैबीच, बाढीमा परेर रोशी गाउँपालिका–७ का करिब ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको छ। उनी राजमार्ग निर्माणमा संलग्न सुपरभाइजर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यस्तै, चौकीडाँडा नजिकै फसेका सात जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीले एक मोटरसाइकल र एक इलेक्ट्रिक गाडी पनि बगाएको छ। सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुण्डे, नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारीसाधन ‘होल्ड’ गरेको जनाएको छ।

