काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारलाई बधाई तथा शुभकामना दिँदै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा निष्पक्षता, कानुनी प्रक्रिया र विधिको शासन कायम गर्न सरकारलाई सचेत गराएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा निर्वाचनबाट बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भई मन्त्रिपरिषद् गठन भएकोमा स्वागत गरिएको छ। पार्टीले शाह नेतृत्वको सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
विज्ञप्तिमा मन्त्रिपरिषद्को पहिलो बैठकबाट चैत २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
पार्टीले सरकारलाई कुनै पनि कदम चाल्दा विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगर्न आग्रह गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय नगर्न चेतावनी दिएको छ। साथै द्वन्द्व सिर्जना हुने कुनै पनि गतिविधि नगर्न सरकारसमक्ष अनुरोध गरिएको छ। विज्ञप्तिमा केन्द्रीय कार्यालय प्रमुख गणेशमान पुनको हस्ताक्षर रहेको छ।

