काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएकाले देशभर मौसम बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो पहाडी र हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। तराई क्षेत्रमा भने मौसम अधिकांश समय सफा रहने पूर्वानुमान छ।
महाशाखाले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, वर्षा तथा हिमपातको सम्भावना रहेकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

