काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको अग्रज खेल पत्रकारिता सम्मान वरिष्ठ खेल पत्रकार रोशन सिंह राउतलाई प्रदान गरेको छ।
नक्सालमा आइतबार आयोजित मञ्चको २१औँ वार्षिक साधारणसभाको अवसरमा राउतलाई उक्त सम्मान प्रदान गरिएको हो। सोही अवसरमा सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत भएका छन्।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले पत्रकार द्वेयलाई सम्मान तथा पुरस्कार वितरण गरे। अग्रज सम्मान प्राप्त राउतले सम्मानपत्रसहित नगद ३५ हजार रुपैयाँ पाए भने युवा पत्रकार नायकलाई ल्यापटप प्रदान गरिएको थियो।
हाल लोकान्तर डिजिटल दैनिकमा कार्यरत राउतले करिब तीन दशक खेलकुद पत्रकारितामा योगदान दिएका छन्। उनले रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, स्पेस टाइम्स तथा अन्नपूर्ण पोस्टमा दुई दशक खेलकुद ब्युरो प्रमुखका रूपमा काम गरेका थिए।
उनले दक्षिण एशियाली खेलकुददेखि एशियाली खेलकुद, फिफा विश्वकप छनोटदेखि एसीसी ट्रफीसम्मका प्रतियोगितामा फिल्ड रिपोर्टिङ गरेका छन्। राउतले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन्।
सम्मानपछि राउतले आफ्नै घरजस्तो संस्थाबाट सम्मान पाउँदा गौरवान्वित भएको प्रतिक्रिया दिए। “मैले विभिन्न स्थानबाट सम्मान पाएको छु, तर यो मेरो लागि विशेष छ,” उनले भने।
युवा पत्रकार नायकले पनि अग्रजहरूको प्रेरणाले आफू यो पुरस्कारको हकदार बनेको बताउँदै भविष्यमा पनि त्यस्तै मार्गदर्शन पाइरहने विश्वास व्यक्त गरे। कार्यक्रममा सदस्यसचिव मेहताले पुरस्कृत पत्रकारलाई बधाई दिँदै मञ्चको साधारणसभाको सफलताको कामना गरेका थिए।

