काठमाडौँ । पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २७औँ स्मृति दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा रसुवाका जीवन चाम्लिङ प्रथम भएका छन्।
मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा चाम्लिङको मनमोहनको सपना शीर्षकको कविताले पहिलो स्थान हासिल गरेको हो।
प्रथम भएसँगै चाम्लिङलाई ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगितामा लमजुङकी गोमा श्रेष्ठ दोस्रो तथा तनहुँका नरोत्तम श्रेष्ठ तेस्रो भएका छन्। गोमाको समयको धारमा उभिएको शीला र नरोत्तमको हिमज्वालाको सुगन्ध कविता उत्कृष्ट ठहरिएका थिए।
दोस्रो र तेस्रो स्थान हासिल गर्ने स्रष्टालाई क्रमशः रु. ३० हजार र रु. २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा देशभरका २७ स्रष्टाले आ–आफ्नो कविता वाचन गरेका थिए।

