काठमाडौं । पञ्जाब किंग्सले १९औँ संस्करणको इण्डियन प्रिमियर लिगमा ऐतिहासिक जित दर्ता गर्दै नयाँ कीर्तिमान बनाएको छ।
दिल्ली क्यापिटल्सको घरेलु मैदान अरुण जेट्ली क्रिकेट रंगशालामा भएको खेलमा पञ्जाब ६ विकेटले विजयी भएको हो ।
सातौँ खेलसम्म अपराजित यात्रा कायम राख्दै पञ्जाबले २६५ रनको विशाल लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै आईपीएल इतिहासकै सर्वाधिक सफल चेजको कीर्तिमान बनायो। यसअघि सन् २०२४ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको २६२ रनको आफ्नै कीर्तिमान पनि पञ्जाबले तोडेको हो।
पञ्जाबको जितमा ओपनर प्रभसिमरन सिंहले २६ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै ७६ रनको आक्रामक इनिङ खेले। उनले प्रियाशं आर्यसँग पहिलो विकेटका लागि ४१ बलमा १२६ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाए। पावर प्लेमा ११६ रन जोड्दै उनीहरूले आईपीएल इतिहासकै दोस्रो ठूलो स्कोर पनि बनाए।
प्रियाशं आर्य १७ बलमा ४३ रन बनाएर आउट हुँदा कप्तान श्रेयश अय्यर ३६ बलमा ७१ रन बनाएर अविजित रहे। अन्य खेलाडीहरूमा नेहाल बढेरा (२५), कुपर कोनली (१७) आउट हुँदा शशांक सिंह १९ रनमा नटआउट रहे। दिल्लीका लागि कुलदीप यादवले २ विकेट लिए भने अक्षर पटेल र विपराज निगमले समान १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर केएल राहुलको कीर्तिमानी शतकमा २० ओभरमा २ विकेट गुमाएर २६४ रन बनाएको थियो। राहुलले ६७ बलमा १६ चौका र ९ छक्का प्रहार गर्दै अविजित १५२ रन बनाए। उनी आईपीएल इतिहासमा १५० रन पार गर्ने पहिलो ब्याटर बनेका छन्।
राहुलले नितिश राणासँग दोस्रो विकेटका लागि २२० रनको विशाल साझेदारी गरे। नितिश राणा ९१ रनमा आउट भए भने पथुम निशंका ११ रनमै पेभेलियन फर्किए।
जितसँगै पञ्जाब ७ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ भने दिल्ली समान खेलबाट ६ अंकका साथ छैटौँ स्थानमा रहेको छ।

