काठमाडौं । चारपटकको विश्वकप विजेता इटाली लगातार तेस्रो पटक विश्वकप छनोट हुन असफल भएको छ। बोस्निया–हर्जेगोभिनासँगको खेल पेनाल्टी सुटआउटमा हराएपछि इटालीको यात्रा यतिमै समाप्त भएको हो।
खेलको प्रारम्भमै इटालीले १५औं मिनेटमा मोइज केनको गोलबाट अग्रता बनाएको थियो। निकोलो बारेल्लाको दबाबपछि गोलकिपर निकोला वासिल्जको गल्तीको फाइदा उठाउँदै केनले सुन्दर गोल गरेका थिए।
तर पहिलो हाफको अन्त्यतिर अलेसान्द्रो बास्टोनी रातो कार्ड पाएपछि इटाली १० खेलाडीमा सीमित भयो। त्यसपछि बोस्नियाले लगातार आक्रमण गर्दै ७९औं मिनेटमा हारिस तबाकोभिचको गोलमार्फत खेल बराबरीमा ल्यायो।
पेनाल्टी सुटआउटमा बोस्नियाका सबै खेलाडी सफल भए। इटालीका दुई प्रहार असफल भएपछि टोली बाहिरियो। पिओ एस्पोसिटो र ब्रायन क्रिस्टान्तेको प्रहार सफल भएन।
बोस्निया–हर्जेगोभिना आफ्नो इतिहासमा दोस्रो पटक विश्वकपमा छनोट भएको हो। ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा रहेको टोली समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

