काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा र पार्टीको आगामी कार्यदिशा तय गर्न प्रतिनिधि तोकेको छ।
महामन्त्री प्रदीप पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ गते सम्पन्न बैठकको निर्णयअनुसार सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रतिनिधि तोकिएको हो।
सातै प्रदेशका १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग प्रत्यक्ष छलफल गर्दै समग्र निर्वाचन परिणाम, अनुभव र पार्टीको अबको बाटोका सन्दर्भमा समीक्षा गर्न प्रतिनिधि तोकिएको हो।
केन्द्रीय प्रतिनिधिको उपस्थितिमा प्रत्येक क्षेत्रमा स्थलगत अध्ययन र विश्लेषणसमेत गरिने जनाइएको छ। कार्यक्रममा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय सभापति, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवार सहभागी हुनेछन्।
कार्यक्रम व्यवस्थापन सम्बन्धित जिल्ला कार्यसमितिले गर्ने जनाईएको छ । चैत २३, २५, २७ बैशाख ३,५, ७ र ९ गते क्रमश: समीक्षा कार्यक्रम राखिएको हो ।
चैत २३: विराटनगर, कोशी प्रदेश – डा. डिला सङ्ग्रौला पन्त
चैत २५: जनकपुर, मधेश प्रदेश – फरमूल्लाह मन्सुर
चैत २७: पोखरा, गण्डकी प्रदेश – देवराज चालिसे
वैशाख ३: सुर्खेत, कर्णाली प्रदेश – कर्णबहादुर बुढा
वैशाख ५: कैलाली, सुदूरपश्चिम प्रदेश – प्रकाश रसाइली स्नेही
वैशाख ७: हेटौंडा, बागमती प्रदेश – बहादुरसिंह लामा
वैशाख ९: दाङ, लुम्बिनी प्रदेश – योगेन्द्र चौधरी
कांग्रेसले यस कार्यक्रममार्फत निर्वाचन समीक्षा गर्दै पार्टी सुदृढीकरण, सङ्गठन विस्तार र आगामी रणनीति तय गर्ने लक्ष्य राखेको छ।

