काठमाण्डौ ।बीपी राजमार्गमा मंगलबार साँझदेखि अनिश्चितकालीन रूपमा यातायात सञ्चालन रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साँझ ७ बजेपछि भकुण्डे–नेपालथोक खण्डमा परेको भारी वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै यातायात बन्द गरिएको हो।
प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार र काभ्रेभञ्ज्याङलगायत क्षेत्रमा लगातार वर्षा भइरहेकाले रोशी खोलामा बाढी आउन सक्ने जोखिम रहेको छ।
हाल सवारीसाधनलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा रोकिएको छ। छिमेकी जिल्ला सिन्धुलीसँग समन्वय गरी सवारी व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न र अर्को सूचना नआएसम्म उक्त खण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यसअघि गत शुक्रबार आएको बाढीका कारण पनि बिपी राजमार्ग दुई दिनसम्म अवरुद्ध भएको थियो। त्यसबेला करिब ३६ घण्टापछि मात्र आइतबार बिहानदेखि सञ्चालनमा आएको थियो।
शुक्रबारको बाढीले रोशी क्षेत्रको चौकीडाँडा–नेपालथोक खण्डमा करिब चार किलोमिटर अस्थायी डाइभर्सन बगाएको थियो।
गत असोजमा आएको बाढीपहिरोपछि उक्त खण्डमा अस्थायी सडक बनाएर यातायात सञ्चालन हुँदै आएको छ।

