काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सले आफ्नो उत्कृष्ट लय कायम राख्दै मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। बिहीबार भएको खेलमा पञ्जाबले १९६ रनको लक्ष्य २१ बल बाँकी छँदै ३ विकेट गुमाएर सहजै पूरा गर्यो।
पञ्जाबको जितमा ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस ऐरको आक्रामक ब्याटिङ प्रमुख रह्यो। प्रभसिमरनले ३९ बलमा ११ चौका र २ छक्कासहित अविजित ८० रन बनाए भने कप्तान ऐरले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६६ रनको योगदान दिए। ऐर लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गर्न सफल भए।
सुरुआती ब्याटर प्रियान्श आर्य (१५) र कूपर कोनोली (१७) सस्तैमा आउट भएपछि पञ्जाब ४५–२ को स्थितिमा पुगेको थियो। तर त्यसपछि बनेको साझेदारीले खेल पूर्ण रूपमा पञ्जाबको पक्षमा मोडिदियो। मुम्बईका अफगानी बलर एएम गजनफरले दुई विकेट लिए पनि बाँकी बलरले प्रभावकारी प्रदर्शन गर्न सकेनन्।
यो जितसँगै पञ्जाबले ५ खेलमा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ। उता, समान खेलमा केवल एक जित निकालेको मुम्बई नवौँ स्थानमा सीमित भएको छ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले क्विन्टन डी ककको शतकीय इनिङ्सको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो। डी ककले ६० बलमा ८ चौका र ७ छक्कासहित अविजित ११२ रनको विस्फोटक इनिङ्स खेले। उनी तीन फरक टोलीबाट आईपीएल शतक बनाउने तेस्रो खेलाडी समेत बने।
मुम्बईका नमन धीरले ४४ रनको योगदान दिँदै डी ककसँग तेस्रो विकेटका लागि १२२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। कप्तान हार्दिक पाण्ड्या १४ रनमा आउट भए भने सूर्यकुमार यादव खाता खोल्न असफल रहे।
पञ्जाबका अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै २२ रन खर्चेर ३ विकेट लिए र प्लेयर अफ द म्याच घोषित भए।

