काठमाडौं । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशभरको मौसममा आंशिक परिवर्तन देखिएको छ। हाल हिमाली क्षेत्रमा साधारणतया बदली, पहाडी भू–भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति देशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशको तराईसहित अन्य प्रदेशका तराई तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै गएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

