काठमाडौं । उर्मिला थपलियाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले कर्णाली प्रदेशको सुर्खेतमा अर्बौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको रंगशाला प्रयोगविहीन अवस्थामा गौचरणजस्तै बनेको भन्दै दुःख व्यक्त गरिन् ।
संसद बैठकलाई सम्बोधन गर्दै सांसद थपलियाले खेलाडीहरू उचित अवसर र वातावरणको अभावमा निराश बन्दै गएको बताइन् । उनले खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीलाई राज्यले आवश्यक वातावरण दिन नसकेको उल्लेख गरिन् ।
उनले प्रतिभावान खेलाडी विदेश पलायन हुने क्रमसमेत बढिरहेको भन्दै विगत चार वर्षदेखि हुन नसकेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता शीघ्र आयोजना गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद थपलियाले प्रतियोगिताको मिति तत्काल घोषणा गरी खेलाडीको मनोबल उच्च बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् ।

