काठमाडौँ — नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटको पहिलो संस्करण आज उपाधि निर्धारित हुँदैछ। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाल र भारत आमनेसामने हुँदैछन्। निर्णायक खेल आइतबार बिहान १० बजे कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुने क्रम छ।
सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। पाकिस्तानले दिएको १७० रनको लक्ष्य नेपालले १७ ओभरमै ३ विकेट गुमाउँदै १७१ रन बनायो। पाकिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेटकाे क्षतिमा १६९ रन जोडेको थियो।
भारतले समेत दमदार प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै भारत फाइनलमा उक्लिएको हो। ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमै पूरा गरेको थियो।
नेत्रहीन महिला विश्वकप क्रिकेट इतिहासमै पहिलो पटक आयोजना भइरहेको यो प्रतियोगितामा आजको फाइनलले नयाँ च्याम्पियनको घोषणा गर्नेछ।
