काठमाडौँ — भियतनामको मध्य क्षेत्र भीषण बाढीको चपेटामा परेपछि ठूलो जनधनको क्षति भएको छ। लगातारको भारी वर्षापछिको बाढीमा परी मृत्यु हुने संख्या ५५ पुगेको छ भने १३ जना अझै बेपत्ता रहेको भियतनाम प्रकोप तथा डाइक व्यवस्थापन प्राधिकरणले शनिबार जनाएको छ।
बाढीले करिब ८० हजार हेक्टर धान तथा अन्य बाली डुबानमा पारेको छ। त्यस्तै, ३.२ मिलियनभन्दा बढी कुखुरा तथा गाईवस्तु बगाएर मृत्यु भएको रिपोर्टमा उल्लेख छ, जसले कृषिक्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
प्राधिकरणका अनुसार २८ हजार ४०० घर डुबानमा परेका छन् भने ९४६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
आर्थिक हिसाबले हेर्दा बाढीले करिब ९ ट्रिलियन भियतनामी डोङ (झन्डै ३५८ मिलियन अमेरिकी डलर) बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

