काठमाण्डौ । साहित्य सन्ध्या- गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई प्रदान गर्ने निर्णय भएको छ ।
साहित्य सन्ध्याको कार्यसमितिको काठमाण्डौमा बसेको बैठकले २०८१ सालको ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका विद्वान समालोचक प्रा.डा.वासुदेव त्रिपाठीलाई अर्पण गर्ने निर्णय गरेको हो ।
साहित्य सन्ध्याका सल्लाहकार साहित्यकार प्राध्यापक डाक्टर जगत् उपाध्याय ‘प्रेक्षित’को संयोजकत्वमा माया ठकुरी र रमेश पोखरेल रहनुभएको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरिएको साहित्य सन्ध्याका अध्यक्ष साहित्यकार राम विनयले बताउनु भयो ।
साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान पचास हजार नगद राशि सहितको रहेको छ । यो सम्मान तथा पुरस्कार प्रगतिवादी साहित्यकार एवम् सौन्दर्य चिन्तक गोविन्द भट्टको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहनुभएका डा गंगाप्रसाद उप्रेती स्थापना गरिएको हो ।
उल्लेखित पुरस्कार तथा सम्मान असोज २५ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्षमा एक विशेष समारोहबीच अर्पण गरिने साहित्य सन्ध्याका उपाध्यक्ष साहित्यकार रमेश पोखरेलले बताउनु भएको छ ।
साहित्यकार भट्टको निधन भएको दिन पारेर पुरस्कार एवम् सम्मान अर्पण गर्न लागिएको हो । साहित्य सन्ध्या-गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान अर्पण गर्न यहि सालबाट शुरुवात गरिएको हो ।
को हुन् प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी ?
वि.सं.१९९९ चैत्र १३ मा तनहुँ जिल्लाको चुँदीरम्घामा पिता प्रेमदत्त त्रिपाठी तथा माता गोमादेवी त्रिपाठीका सुपुत्रका रूपमा जन्मिनुभएका वासुदेव त्रिपाठी नेपाली साहित्यमा महासमालोचकका रूपमा समेत सम्मानित र सुप्रतिष्ठित विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँ विशिष्ट समालोचक, कवि/महाकवि, निबन्धकार, भाषाविद्, समाजसेवी, दीर्घ शिक्षासेवी, अनुवादक र सम्पादक आदि अनेक व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । उहाँको समालोचक व्यक्तित्व सर्वाधिक उचाइमा रहेको छ । नेपाली साहित्यमा उहाँ मानक समालोचक मानिनु हुन्छ ।
उहाँका ‘नेपाली कविताको सिंहावलोकन’ (२०२७), ‘विचरण’ (२०२८), ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा’ भाग एक (२०३०) र भाग दुई (२०४८), ‘साहित्यकार पहलमान सिंह स्वाँरको पुनर्मूल्याङ्कन’ (२०३३), ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन’ (२०३४), ‘साहित्यकार झपटबहादुर राणाको जीवनीको एक झलक’ (२०४५), ‘नेपाली कविता’ भाग १, २ र ४ (२०४६) को सम्पादन एवम् अधिक समालोचनात्मक अंशको लेखन, ‘नेपाली साहित्य शृङ्खला’ (भाग र १ र २ को विशद समीक्षात्मक लेखन, सम्पादन, ‘साहित्य सिद्धान्त ः शोध तथा सृजन विधि’ २०६६ जस्ता समालोचनात्मक ग्रन्थहरू प्रकाशित छन् । काव्यकविता र गीततर्फ उहाँका ‘तीन थुँगा’ काव्यसङ्ग्रह (२०४५), ‘देशको महिमा’ खण्डकाव्य (२०४६), ‘नवपल्लव’ गीतसङ्ग्रह (२०४६), ‘सम्झनाकुञ्ज’ कविता, काव्य र गीतिसङ्ग्रह (२०६६), ‘जीवननिकुञ्ज’ कविता, काव्य र गीतिसङ्ग्रह (२०६७), ‘सृजनकुञ्ज’ कविता, काव्य र गीतिसङ्ग्रह (२०६७), ‘रचनाकुञ्ज’ कविता, काव्य–महाकाव्य र गीतिसङ्ग्रह भाग एक (२०६८) र भाग दुई (२०६९) तथा ‘मधुकुञ्ज’ कविता–काव्यसङ्ग्रह (२०७०) प्रकाशित छन् ।
उहाँले भाषाव्याकरण र कोशतर्फ नेपाली तत्सम संस्कृत शब्दको वर्णविन्यास नियम (२०३४), अनिवार्य नेपाली शिक्षण निर्देशन (सहलेखन, २०३५–३६), निम्नमाध्यमिक र माध्यमिक नेपाली व्याकरण र रचना (२०४८) को लेखनका साथै नेपाली बृहत् शब्दकोश (२०४०)को विशेष सम्पादन गरेरसमेत विशिष्ट योगदान गर्नुभएको छ । २००८ सालदेखि सृजनायात्रा र २०१८ सालदेखि समालोचना-यात्रा प्रारम्भ गर्नुभएका त्रिपाठीले दर्जनौँ साहित्यिक कृतिहरू तथा पत्रिकाहरूको अनुवाद, सम्पादनसमेत गर्नुभएको छ ।

उहाँले विश्वसाहित्यमा देखा परेका सैद्धान्तिक, प्रायोगिक र कृतिपरक समीक्षाका साँधसिमानामा र स्वतन्त्र समालोचना, पाठ्यपुस्तक, भूमिका, सम्पादकीय आदि फरक फरक क्षेत्रमा सशक्त समीक्षा गर्नुभएको छ । फरक-फरक क्षेत्रमा समीक्षा गर्दा त्रिपाठीले आफ्नै विचारको परिमार्जन, नयाँ-नयाँ समीक्षापद्धतिको अवलम्बन, प्रविधि र शैलीको प्रवर्तनमा विशिष्ट योगदान दिनुभएको छ ।
निरन्तर नेपाली समीक्षालाई विधा, विषय, सिद्धान्त र शैलीबाट विशिष्ट गति प्रदान गर्नुभएकाले नै त्रिपाठीलाई वास्तवमै नेपाली समालोचना परम्पराका महासमालोचक मानिएको हो । उहाँका समालोचना परिपक्व र सूक्ष्म किसिमका छन् । उहाँका समालोचनाले नेपाली साहित्यको इतिहासमा मानक स्थापित गरेका छन् । प्रायोगिक र सैद्धान्तिक दुबै किसिमका समालोचनामा विशिष्टता प्राप्त शिखर व्यक्तित्व बन्नुभएका त्रिपाठीका विभिन्न पत्रिकामा असङ्ख्य समालोचना, निबन्ध, कविता, लेख, अन्तर्वार्ता आदि प्रकाशित छन् ।
बौद्धिक, प्राज्ञिक र संस्थागत चिन्तनका पर्याय त्रिपाठी नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र सङ्कायका पूर्व डिन र त्रिवि, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख रहिसक्नुभएका त्रिपाठी विश्वविद्यालयस्तरमा शोधपरक समालोचना प्रणालीका प्रवर्तकसमेत हुनुहुन्छ ।
नेपाली साहित्यमा पिएचडि गर्ने पहिलो व्यक्ती पनि प्राध्यापक त्रिपाठी हुनुहुन्छ । ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन’ ग्रन्थका लागि त्रिपाठीलाई ‘मदन पुरस्कार २०३४’ बाट सम्मानित गरिएको थियो।
मिसन अधिकारी

