काठमाडौँ। बागमती प्रदेशमा नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम पुनः रोकिएको छ। प्रदेश प्रमुख बिरामी परेको भन्दै शपथ ग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो।
यसअघि प्रदेश प्रमुखको कार्यालयले बुधबार कांग्रेसबाट नियुक्त भएका तीन मन्त्रीको शपथ ग्रहण दिउँसो १ बजेका लागि तय गरेको थियो। तर, बिहीबार बिहान पुनः विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयले शपथको कार्यक्रम अनिश्चितकालका लागि रोकिएको जानकारी दिएको छ। विज्ञप्तिमा प्रदेश प्रमुखको स्वास्थ्यमा अकस्मात् समस्या आएकाले उपचारका लागि काठमाडौँ प्रस्थान गरेको उल्लेख छ।

मुख्यमन्त्री बहादुर सिंह लामाले रिक्त पाँच मन्त्रालयमध्ये तीनवटामा मन्त्री नियुक्त गरेर बुधबार बिहान ९ बजे शपथका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए।
उनले चितवनकी माया श्रेष्ठ, गीता गुरुङ र धादिङका गोविन्द लम्साललाई मन्त्री बनाएका थिए।
यसबीचमा मुख्यमन्त्री लामाले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन्। बुधबार नै भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँ काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन्।
बुधबार नै हुने भनिएको मन्त्रीहरूको शपथ ग्रहण कांग्रेसको आन्तरिक विवाद र संसदीय दलको नेताका लागि मतदान प्रक्रिया जारी रहेकाले रोकिएको थियो। अर्कोतर्फ सत्ता साझेदार दल नेकपा एमालेले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएपछि शपथ बिहीबार दिउँसोका लागि सारिएको थियो।
बिहिबार गर्ने भनिएको सपथ ग्रहण पुन: प्रदेश प्रमुखको अस्वस्थताका कारण अनिश्चित बनेको छ।

