नेपालको शैक्षिक र सामाजिक विकासको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय केदारनाथ श्रेष्ठलाई २०८१ सालको `क्याप्टेन रतन बहादुर लामिछाने पुरस्कार´ प्रदान गर्न लागिएको छ । तत्कालीन शाही नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन रतन बहादुर लामिछानेको स्मृतिमा स्थापित पुरस्कार शैक्षिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएकाले श्रेष्ठलाई प्रदान गर्न लागिएको सूचक प्रकाशनले जनाएको छ । पुरस्कारको राशि ११ हजार रहेको छ ।
विगत पाँच दशकदेखि नेपालको शैक्षिक, सामाजिक, स्वास्थ्य, कला, संस्कृति, साहित्य, अध्यात्म आदि क्षेत्रमा सक्रिय श्रेष्ठ दर्जनौं संघ-संस्थाको विभिन्न तहमा आवद्ध हुनुहुन्छ । सम्यक् सन्देश (समानान्तर बौद्ध आध्यात्मिक पत्रिका) को संरक्षक समेत रहेका श्रेष्ठले गत वर्ष `बुद्ध वाणी´ नामक पुस्तक प्रकाशन गराएका थिए । आगामी पुस ६ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजना गरिने कार्यक्रममा कवि एवं गीतकार सपना लामिछाने `देउजा´ द्वारा लिखित `जिन्दगी एक यात्रा´ कवितासङ्ग्रहको दोस्रो संस्करण पनि सार्वजनिक हुने भएको छ ।

