– कमल निओल
उहिलेका सामन्तहरू आँखाले नापेर
जमिनको मालिक बन्थे।
जुँगामा मैनको ताउ लाएर
रैतीलाई हुकुम दिन्थे।
बार्दलीमा बसेर हुक्का गुडगुडाउँदै
बहिखाता नियाल्थे र
झिंगे सांवाको हात्ती ब्याज बनाउँथे।
सांवाब्याजको जोड घटाउको साङ्लो बेर्दै
जीवनभर रैतीलाई दास बनाई कजाउँथे।
उहिलेका सामन्तहरू केके गर्थे के के ….
अक्षरतिर आँखा लाए आँखा झिरले रोपिदिन्थे।
चलनमा औलो ठड्याए औलै काटिदिन्थे।
फरक कुरा बोल्नै नहुने ,
बोले फाँसीमा लट्काइदिन्थे ।
अर्काकी छोरीलाई पेट बोकाएर
अर्काकै छोराको जिम्मा लगाइदिन्थे ।
अछुतले सानो गल्ती गरे
चारपाटे मोडेर भन्ज्याङ कटाइदिन्थे ।
छुतले ठुलै गल्ती गरे पनि
सुनपानी छिर्केर चोख्याइदिन्थे ।
उहिलेका सामन्तहरु…..
अहिलेका सामान्तहरू कमिसनको
आहालमा डुबेर अरबपति हुन्छन् ।
मुहारमा सनक्रिम धसेर
करोडको प्राडोमा हुइकिन्छन् , र
चप्पल पड्काउँदै सहर पसेर
प्रत्येक वर्ष सुनको महल ठडाउँछन्।
अहिलेका सामान्तहरू
आआफ्नो झण्डा बोकेर
कुटनीतिक जुवाको खेल खेल्छन्
र देशको झण्डालाई दाउमा राख्छन् ।
मल्टिनेशनल कमिसनमा मुलुक हाँकेर
युवा शक्तिलाई खाडीमा ठेल्छन् र
देशको उद्योग धन्दालाई कवाडीमा बेच्छन् ।
अहिलेका सामन्तहरु के के गर्छन् के के ….
घोकन्ते विद्या घोकाएर सन्ततिहरुलाई
गोरेहरूको गु सोर्न पठाउँछन्।
आफूहरू गोरेहरूको थुक चाटेर
सत्ताको कुर्सीमा रमाउँछन् र
आशाका नजरले हेर्दाहेर्दै भोटरहरूलाई
देशलाई गहिरो अन्धकारमा धकेल्छन् ।
अहिलेका सामान्तहरू…
अभिनय हेरेर बेहोस दर्शकहरू/भोटरहरू
लामो स्वास फेर्छन् र बन्धनहरू चुँडाल्दै
आजादीको गीत गाउन थाल्छन्।

