काठमाडौँ । रामेछाप सदरमुकाम मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ।
मृत्यु हुनेमा लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ रहेका छन्। त्यस्तै लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत, लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ तथा दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका छन्।
मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार बाँकी दुई जनाको सनाखत हुन बाँकी छ।
रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्। घाइतेहरूको उपचार खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको थियो।

