काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण तराईका धेरै स्थान तथा उपत्यकामा हुस्सु लागेको छ भने हिमाली र उच्च पहाडी भेगमा आंशिक बदली देखिएको छ।
मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। ती क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।
महाशाखाका अनुसार तत्काल वर्षाको सम्भावना कम रहेकाले तराई र उपत्यकामा वायु प्रदूषण कायमै रहने देखिएको छ। प्रतिकूल मौसमका कारण हुन सक्ने असरबाट सुरक्षित रहन सर्वसाधारण तथा सम्बन्धित निकायलाई सतर्क रहन अनुरोध गरिएको छ।

