काठमाडौँ । निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार प्रत्येक वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। स्वयंसेवकले घरदैलोमै पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व, मतदान प्रक्रिया तथा मताधिकार प्रयोगबारे मतदातालाई जानकारी गराउने छन्।
आयोगले विगतझैँ सबै स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई नै यसपटक मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी दिएको छ। मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तर तथा स्थानीय तहस्तरमा तालिम र अभिमुखीकरण कार्यक्रम माघ मसान्तभित्र सम्पन्न गर्ने तयारी भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिए।
निर्वाचनसम्बन्धी आवश्यक सामग्री आयोगका आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिँदै आएको छ भने आमसञ्चार माध्यममार्फत पनि मतदाता शिक्षा तथा निर्वाचनसम्बन्धी जानकारी व्यापक रूपमा प्रचारप्रसार गरिने जनाइएको छ।
यस कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका, गोप्य मतदानको महत्त्व, निर्वाचन आचारसंहिता तथा भ्रामक सूचनाबाट जोगिने उपायबारे जानकारी पाउने विश्वास आयोगले गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई सही र स्पष्ट जानकारी प्रदान गर्ने उद्देश्यले ‘निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८’ बमोजिम मतदाता शिक्षा विशेष कार्यक्रम २०८२ स्वीकृत गरिएको हो। आयोगले यही माघ १९ गते उक्त कार्यक्रम स्वीकृत गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ।
नेपालको संविधान, प्रचलित निर्वाचन कानुन तथा मतदाता शिक्षा नीतिअनुसार मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार प्रभावकारी बनाउन विशेष कार्यक्रम तयार गरिएको आयोगको भनाइ छ। जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु, मतदाताको सहभागिता बढाउनु तथा बदर मतको संख्या घटाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रवक्ता भट्टराईले बताए।
मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि आमसञ्चार माध्यम, सामाजिक सञ्जाल तथा स्वयंसेवक परिचालन गरिने आयोगले जनाएको छ।

