काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२५ अनुसार नेपालले यस वर्ष पनि १०० मध्ये ३४ अंक प्राप्त गरेको छ। गत वर्षकै अंक दोहोरिँदा भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार हुन नसकेको संकेत देखिएको छ।
विश्वका १८० देश समेटिएको सूचकांकमा नेपाल मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ। सूचकांकमा शून्य अंक अत्यधिक भ्रष्ट र १०० अंक अत्यन्त पारदर्शी देशलाई जनाउँछ। नेपालका लागि सूचकांक निर्धारण गर्दा विश्व बैंक, विश्व आर्थिक मञ्च, बर्टेल्सम्यान फाउन्डेसन, ग्लोबल इन्साइट, वर्ल्ड जस्टिस प्रोजेक्ट, भी–डेमलगायत अन्तरराष्ट्रिय संस्थाका तथ्यांकलाई आधार बनाइएको टिआई नेपालले जनाएको छ।
दक्षिण एसियामा भूटान अग्रस्थानमा
दक्षिण एसियाली देशमध्ये भूटानले ७१ अंकसहित सबैभन्दा राम्रो स्थान हासिल गरेको छ। भारत र माल्दिभ्सले ३९, श्रीलंकाले ३५, पाकिस्तानले २८, बंगलादेशले २४ र अफगानिस्तानले १६ अंक प्राप्त गरेका छन्। छिमेकी चीनले ४३ अंक पाएको छ। भूटानबाहेक अधिकांश दक्षिण एसियाली देशमा भ्रष्टाचार गम्भीर समस्या रहेको टिआईको निष्कर्ष छ।
राजनीतिक अस्थिरता, कमजोर सुशासन, सार्वजनिक पदको दुरुपयोग, दण्डहीनता र पारदर्शिताको अभाव सूचकांक सुधार नहुनुका प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ। जनआन्दोलन, युवा सक्रियता र नागरिक दबाब बढे पनि ती प्रयास नीतिगत र संरचनागत सुधारमा रूपान्तरण हुन नसकेको प्रतिवेदनमा जनाइएको छ।
सार्वजनिक सेवा प्रवाह, ठेक्का–पट्टा, कर प्रणाली र न्यायिक प्रक्रियामा अझै पनि भ्रष्टाचारको जोखिम उच्च रहेको टिआई नेपालको निष्कर्ष छ।
भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक इच्छाशक्ति आवश्यक
टिआई नेपालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति, कानुनको पूर्ण कार्यान्वयन, स्वतन्त्र न्यायपालिका, पारदर्शी प्रशासन र नागरिक सहभागिता सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।
आगामी निर्वाचनमार्फत भ्रष्टाचारमा संलग्न नहुने, इमानदार र प्रतिबद्ध नेतृत्व चयन गर्नु आवश्यक रहेको टिआई नेपालका पूर्वअध्यक्ष पद्यिनी प्रधानाङ्गले बताइन्। महासचिव सागरराज शर्माले पनि भ्रष्टाचार नियन्त्रणमा नेपाल सफल हुन नसकेको उल्लेख गर्दै सबै क्षेत्रबाट समन्वित प्रयास आवश्यक रहेको बताए।
विश्वव्यापी अवस्था पनि चिन्ताजनक
यस वर्ष सूचकांकमा १८२ देश समेटिएका छन्। विश्वव्यापी औसत अंक एक अंकले घटेर ४२ पुगेको छ। विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन्।
डेनमार्क ८९ अंकसहित लगातार आठौँ वर्ष सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने दक्षिण सुडान र सोमालिया नौ–नौ अंकसहित सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा छन्।
टिआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माका अनुसार नेपालको अंक स्थिर रहनु सरकारहरूले भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको संकेत हो। भ्रष्टाचारकै कारण देशले ठूलो आर्थिक तथा सामाजिक क्षति व्यहोर्नुपरेको र नागरिक असन्तोष बढेको उनले बताए।

