कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा विकास र सुशासनको आवश्यकता तीव्र भएकाले आफ्नो पार्टी त्यसैको एजेण्डासहित जनतामाझ आएको बताएका छन्।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनले मुलुकलाई सक्षम र जिम्मेवार नेतृत्व दिने विश्वास व्यक्त गरे। अघिल्लो निर्वाचनको तुलनामा यसपटक बढी सिट जित्दै रास्वपा संसदमा सशक्त उपस्थिति जनाउने उनको दाबी छ।
सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दै बलिदान दिएका नवयुवाहरूको सपना खेर जान नदिने प्रतिबद्धता पनि व्यक्त गरे। उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले देशको भविष्यको दिशा निर्धारण गर्ने बताए।
उनका अनुसार सुशासन र आर्थिक समृद्धिसहित देशभित्रै रोजगारी सिर्जना गर्न सकिए युवाको विदेश पलायन नियन्त्रण गर्न सकिने छ। त्यसका लागि जनताको विश्वास र समर्थन आवश्यक रहेको उनले जोड दिए।

