काठमाडौं । तारिक रहमान आज बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी)को नेतृत्वमा बङ्गलादेशका प्रधानमन्त्रीका रूपमा शपथ लिँदै छन्। हालै सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा बढी सिट जितेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।
शपथ समारोह संसद भवनको दक्षिण प्लाजामा आयोजना गरिएको छ।
बिहान १० बजे सांसदहरूको र दिउँसो ४ बजे प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्को शपथ हुने कार्यक्रम छ। बङ्गलादेशी सञ्चारमाध्यम द डेलिस्टारका अनुसार यस वर्ष ठूलो संख्यामा विदेशी पाहुना निम्त्याइएकाले परम्परागत रूपमा प्रयोग हुने बंगभवनको सट्टा संसद परिसरमै समारोह आयोजना गरिएको हो।
नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा शपथ समारोहमा सहभागी हुन ढाका पुगेका छन्। नेपालको परराष्ट्र मन्त्रालयले यस भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने जनाएको छ।
भारतबाट ओम बिर्ला र पाकिस्तानबाट अहसन इकबाल पनि समारोहमा सहभागी हुने जनाइएको छ।
२९९ निर्वाचन क्षेत्रमा भएको मतदानमध्ये २९७ सिटको मतगणना हुँदा बीएनपीले २०९ सिट जितेको थियो। दुई क्षेत्रमा अदालतको आदेशपछि मतगणना रोकिएको छ भने एक क्षेत्रमा उम्मेदवारको निधनका कारण मतदान स्थगित भएको थियो।
बङ्गलादेशको संसदमा कुल ३५० सिट छन्, जसमा ५० सिट महिलाका लागि आरक्षित छन्। आरक्षित सिटमा समानुपातिक आधारमा प्रतिनिधि चयन गरिन्छ। नयाँ संसदमा आठ दलको प्रतिनिधित्व रहनेछ, जसमा पाँच दलका शीर्ष नेताहरू पहिलो पटक सांसद बनेका छन्।
बीएनपीका २०९ सांसद मध्ये १३२ नयाँ छन्। जमात–ए–इस्लामी का ६८ मध्ये ५९ सांसद पहिलो पटक निर्वाचित भएका छन्। विद्यार्थी आन्दोलनपछि बनेको नेसनल सिटिजन पार्टीका सबै ६ सांसद नयाँ हुन् भने स्वतन्त्रतर्फ पनि अधिकांश नयाँ अनुहार छन्।
पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगलाई यस निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो। डेढ वर्षअघि भएको विद्यार्थी आन्दोलनले उनको सरकार अपदस्त गरेको थियो।
आन्दोलनका क्रममा सरकारी दमनमा १४ सयभन्दा बढी प्रदर्शनकारी मारिएका थिए। आन्दोलन चर्किएपछि हसिनाले राजीनामा दिई देश छाडेकी थिइन् र अहिले नयाँदिल्लीमा निर्वासित जीवन बिताइरहेकी छन्।

