काठमाण्डौ । सीमा क्षेत्रमा तनाव बढ्दै जाँदा थाइल्यान्डले छिमेकी कम्बोडियामाथि डिसेम्बरमा भएको युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ। मङ्गलबार दुवै देशका सेनाबीच सिमापार गोली हानाहान भएको थाई सेनाले जनाएको छ।
थाई सेनाका अनुसार सीमावर्ती सिसाकेट प्रान्तमा गस्ती गरिरहेको थाई सैनिक नजिक कम्बोडियन सेनाले ‘एकल ४० एमएम ग्रेनेड राउन्ड’ प्रहार गरेको थियो। घटनामा कुनै थाई सैनिक घाइते नभएको जनाइएको छ।
जवाफमा थाई सेनाले चेतावनी र आत्मरक्षाका लागि एम–७९ ग्रेनेड लन्चर प्रयोग गरेको बताएको छ। सेनाका प्रवक्ता विन्थाई सुवारीले कम्बोडियाको यस्तो गतिविधिले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएका छन्।
प्रारम्भिक मूल्याङ्कनअनुसार कम्बोडियन सेनाका नयाँ सदस्यहरू आदेश र कमान्ड प्रणालीसँग पर्याप्त परिचित नभएकाले सञ्चालन कमजोरीका कारण विस्फोट भएको हुन सक्ने थाई सेनाको दाबी छ।
यता कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले घटनाबारे प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ।
थाइल्यान्ड र कम्बोडियाबीचको सीमा विवाद फ्रान्सेली औपनिवेशिक कालको सीमांकनबाट सुरु भएको शताब्दी पुरानो समस्या हो। लामो समयदेखि जारी झडपमा सैनिक र सर्वसाधारण गरी दर्जनौँको ज्यान गएको छ भने दस लाखभन्दा बढी मानिस विस्थापित भएको बताइन्छ।

